कांग्रेस र एमालेमा तमासा

सम्पादकीय

नेपालमा प्रजातन्त्र ल्याउन नेपाली कांग्रेस र एमालेका नेताहरुको ठूलो योगदान छ । उनीहरुले ज्यानको बाजी लगाएर प्रजातन्त्र ल्याए । यसरी ल्याएको प्रजातन्त्रमा माओवादीले जनयुद्धका नाममा कांग्रेस र एमालेकै मान्छे भटाभट मारे तर राजावादीलाई खासै छोएनन् । नेपाल जस्तो सानो मुलुकमा माओवादी आफ्नै बलबुताले कसरी जनयुद्ध गर्दै छ भन्ने आशंका त थियो तर पछिल्लो समय आफै भेद खुल्दै गयो । यसरी भेद खुल्दा पनि माओवादी नेतृत्वले न लाज मानेको छ न आत्म आलोचना गरेको छ । जसरी माओवादी सत्तामा आयो त्यसरी वर्तमान सरकार सत्तामा आएको छ । यो सरकार आउनुका पछाडी पनि खेल छ भनेर धेरैले आशंका शुरुदेखि गरिरहेका छन् । यसको पनि ढिलो चाडो भेद खुल्ने निश्चित हो । त्यतिबेला हरेक नेपाली जसरी जनयुद्धका नाममा पछुताए त्यसरी नै जेनजी आन्दोलनका बारेमा  पछुताउने निश्चित हो । यी सबै कुरा गरेपनि यतिखेर नेपाली जनतासंग विकल्प छैन । राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले मन खोलेर मत दिएका छन् । कांग्रेस र एमाले बर्षाै देखि सत्तामा बसे तर न आपसमा मिले न देशको विकासमा हातेमालो गरे । यी दुई पार्टीले सत्ताका लागि संघर्ष त गरे तर सुशाषनको पाटोमा गम्भिर भएनन् । जनताले यी दुई पार्टीबाट धेरै आशा गरेका थिए । एकताका  दुई पार्टी मात्र हुनुपर्छ भन्ने बहस चलेको थियो त्यतिबेला आम नागरिकले कांग्रेस र एमाले मात्र रहने हुन् भनेर लख काट्थे । आज यी दुई पार्टीमा देखिएको बिचलनले जनताको त्यो भावनामा ठेस पुगेको छ । जनताले आशा गरे अनुसारको व्यबहार कांग्रेस र एमालेको नेतृत्वले देखाउन सकेका छैनन् । पार्टी कव्जा गर्ने सोचमा छन् तर सत्य तथ्य बुझेर पार्टी मिलाउने सवालमा कोही छैनन् । बिदेशीको आडमा कांग्रेस फुटको डिलमा पुगेको छ भने एमालेमा लफडा चालु छ । एमालेमा ओली बाठा भएर पार्टी आफ्नै कव्जामा राख्न सफल भए तर कांग्रेसमा बिधानको धारा देखाएर निर्वाचन आयोगले दबाबमा काम गरेपछि कांग्रेस यतिखेर संकटमा छ । यस्तो अवस्थामा पार्टी कव्जा गर्नेहरुले देश र जनताको भन्दा आफ्नो स्वार्थमा लिप्त छ । यही अवस्था भए राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थानीय र प्रदेश निर्बाचनमा कसैले रोक्न सक्दैन । संघिय निर्बाचन भन्दा बेहाल स्थानीय र प्रदेश निर्बाचनमा यी दुई दलको हुने हो । आन्तरिक कलहले यी दुई पार्टी संकटमा छन् । तसर्थ इमान्दार कार्यकर्ताले निस्वार्थ भएर समिक्षा गर्न जरुरी छ । को संग लागेर के लाभ पाइने हो भन्ने सोच त्यागेर पार्टी बलियो बनाउन सबैले सकारात्मक भूमिका खेल्नुपर्छ ।