कृषि क्षेत्रलाई व्यबस्थित गर्न जरुरी छ

सम्पादकीय

कृषि क्षेत्रलाई व्यबस्थित नगर्दासम्म नेपालको उत्पादनमा बृद्धि हुँदैन । कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्छ । कृषि क्षेत्रका लागि प्रष्ट नीति हुनुपर्छ । उत्पादनमा हौसला बढाउने गरी सरकारले नीति ल्याउनुपर्छ । कृषि क्षेत्रमा लगानी हुने बजेट पारदर्शी हुन जरुरी छ भने कृषिमा लगानी गरेको बजेटले उत्पादनमा कति भूमिका खेल्यो भनेर समिक्षा हुन पनि जरुरी छ । अनुदान नपाउने किसानले उत्पादन गर्ने र उत्पादन नगर्ने किसानले अनुदान पाउने प्रचलन बन्द गर्नुपर्छ । कृषि क्षेत्रको उत्पादन बढाउने सवालमा तीन वटै सरकारले रणनीति परिवर्तन गर्न जरुरी छ । पुरानै ढर्राबाट कृषि क्षेत्रलाई आत्म निर्भर बनाउन   सकिदैन । केन्द्रले स्थानीय तहलाई उत्पादन बढाउन हौसला दिनुपर्छ त्यसका लागि कुन कुरा उत्पादन गर्ने र किसानले बढी भन्दा बढी लाभ लिन सक्छन् भन्ने बारेमा रणनीति बनाउन जरुरी छ । अनुदान सुरुका दिनमा राम्रो कार्यक्रमका रुपमा बुझियो तर केही समयमै अनुदान व्यापक दुरुपयोग भयो र यो कार्यक्रम बद्नाम      भयो । करोडौ रुपैया टाठाबाठाले पाए । आम कृषकले राहत पाएनन् । किसानको नाममा आएको बजेट दुरुपयोग भयो । कुन क्षेत्रमा कुन कुरा उत्पादन गर्ने प्रष्ट हुनुपर्छ । एकताका मासु र माछामा आत्म निर्भर भएको नेपाल कोरोना कालपछि डगमगाएको छ । कोरोनाले मासु पालक व्यबसायीको व्यबसाय तहस नहस    बनायो । कतिपय त पुनः व्यबसायमा फर्कन सकेनन् । किसानको वास्तविक समस्यासंग राज्य जोडिएको हुनुपर्छ । वास्तविक समस्या पहिचान गरेर सुबिधा दिने हो भने किसान कृषि पेशाबाट पलाएन हुँदैन। कृषि पेशमा ढुक्क भएर लाग्ने वातावरण बनाउने काम सरकारको हो । नयाँ सरकारले किसानको कुरा बुझेर काम गर्न जरुरी छ ।