टीकापुर, ७ भदौं/भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले वर्तमान सरकार भूमिहीन सुकुम्बासीको समस्या सदाको लागि अन्त्य गर्न लागेको बताउनु भएको छ । भूमिसम्बन्धी समस्या स्थलगत रूपमै बुझ्न शनिबार कैलाली पुग्नुभएकी मन्त्री रावलले कैलालीमा जग्गा नापजाँचको काम ढिला भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
‘सरकार छिटो लालपुर्जा दिएर समस्या समाधान गर्न चाहन्छ तर कैलाली लगायतका केही जिल्लामा कामको गति छैन, त्यसमा पनि टीकापुर नगरपालिका सबैभन्दा पछाडि छ,’ मन्त्री रावल ले भन्नुभयो ‘स्थानीय तहबाट छिटो काम नभए सङ्घीय सरकारले चाहेर पनि केही गर्न नसक्ने भएकाले हरेक पालिकामा पुगेकी छु ।’ सरकारले भूमिहीनका समस्यालाई अबको ५०० दिनभित्र समाधान गर्ने गरी प्राथमिकतामा राखेको र बलियो सरकार भएकाले अहिले नै यो समस्याको समाधान गर्नुपर्ने र भूमिका नाममा हुने राजनीति सदाका लागि बन्द गर्नुपर्ने मन्त्री रावलको भनाइ छ ।
टीकापुर नगरपालिकाले लगत लिइसकेको र वडा नम्बर ३ र ४ बाट जग्गा नावजाँच गर्न सकिने केही महिनामै ५०० जति लालपुर्जा दिन सकिने भूमि सम्पर्क व्यक्ति देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । टीकापुरमा एक हजार ३५२ भूमिहीन दलित, दुई हजार २८२ भूमिहीन सुकुम्वासी, छ हजार ९९५ अव्यवस्थित बसोबासी गरी दश हजार ६६२९ परिवारले फाराम बुझाएका छन् जसमध्ये पाँच हजार ११८ परिवारले वडा नम्बर १ मा फाराम भरेका छन् ।

टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले टीकापुरमा भूमिको समस्या देशभरीको भन्दा फरक भएकाले सङ्घीय सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । ‘हामीले फाराम भरेजतिलाई निस्स दिएका छौं तर यस वडामा टीकापुर नगर विकास समिति र शैक्षिक संस्थाको जग्गाबाहेक अरु जग्गा छैन,’ वडाध्यक्ष विकले भन्नुभयो, ‘सरकारले नीतिगत निर्णय गरेर वा जग्गा किनेरै भएपनि सुकुम्बासी लाई जग्गा दिने बाटो खोल्नुपर्छ ।’
भूमि प्रशासन कार्यालय धनगढीका प्रमुख तथा आयोगका जिल्ला सदस्य लक्ष्मणबहादुर कठायत र भूमि प्रशासन कार्यालय टीकापुरका प्रमुख अशोक सार्कीले अहिलेकै अवस्थामा टीकापुर नगर विकास समितिको लालपुर्जा भएको जग्गा वा शैक्षिक संस्थाको नाममा लालपूर्जा भएको जग्गा भूमिहीन सुकुम्बासीलाई दिन नसकिने बताउनुभयो । प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले आफूले निर्वाचनमा वाचा गरेअनुसार समस्या समाधान गर्नकै लागि सङघीय मन्त्रीको भ्रमण गराएर समन्वय गरेको बताउनुभयो ।
भूमि सम्बन्धी काम गर्न चार जना कर्मचारी खटाएको, वार्षिक २० लाख रुपियाँ बजेट व्यवस्था गरेको र सम्पर्क व्यक्ति तोकेको टीकापुर नगरपालिकाका भूमिहीनहरुले छिटो जग्गा पाउनु पर्ने कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले बताउनु भयो ।
सुदूरपश्चिमका पहाडी जिल्ला, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट भूमिहीन सुकुम्बासीका रुपमा र कैलाली जिल्लाभित्रैबाट बाढी पीडित, मुक्त कमैया, तत्कालीन विकास समितिका पूर्व कर्मचारी, पूर्व कमैयाका नाममा पाँच हजार भन्दा बढी परिवार टीकापुर नगरपालिका(१ स्थित शैक्षिक संस्थाका जग्गाहरूमा बसिरहेका छन् । जग्गाको स्वामित्व, सकारात्मक र नकारात्मक सूचीको जग्गा छुट्याउन नसकिएको र विभिन्न प्रदेशबाट आएका व्यक्तिहरू बसोबास गरिरहेकाले उनीहरूको तीन पुस्तामा जग्गा भए नभएको खुलाउन कठिन भइरहेको यसमा संलग्न कर्मचारीहरू बताउँछन् ।
मन्त्री रावलले शनिबार भूमि समस्या समाधान समिति कैलाली, भजनी नगरपालिका, लम्की चुहा नगरपालिकामा भेटघाट गर्नुभएको छ ।
मन्त्री रावललाई टीकापुरको नौ वटै बस्तीका तर्फबाट नयाँ नेपाल आधारभूत विद्यालयको प्राङगण मा कार्यक्रम आयोजना गरी ज्ञापनपत्र बुझाइएको छ । बस्तीका संयोजक पूर्णबहादुर खडकाले बुझाउनु भएको ज्ञापन पत्र बुझेपछि मन्त्री रावलले जग्गा पाउनु पर्ने मानिसले पाउने भएकाले अहिल्यै नआत्तिन अनुरोध गर्दै लालपर्जा दिएपछि अबिर माला लगाएर खुशी मनाउने आश्वासन दिनुभयो ।