टीकापुर, २ जेठ/टीकापुरमा शहरी स्वास्थ्य प्रवद्र्धन तथा सिकलसेल केन्द्र सञ्चालन भएको छ । केन्द्रमा शुक्रबारबाट उपचार सेवा शुरु गरिएको छ । मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा ८ जना स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।
केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच, परामर्श, ल्याव, फार्मेसी लगायत आधारभूत सबै सेवा उपलब्ध हुनेछन् । यहाँबाट सिकलसेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइने छ । सेवा शुरु भएपछि कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले यहाँबाट सेवा लिन बिरामीलाई सहज हुने बताउादै कर्मचारीलाई मुस्कान सहितको सेवा दिन अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले एक वर्षको तयारीपछि सेवा शुरु भएको बताउँदै सिकलसेल उपचारलाई प्राथमिकता दिन र निम्न वर्गका मानिसलाई आधारभूत सेवामा सहज पहुँच पुर्याउन र लोक कल्याणकारी राज्यको अवधारणा अनुसार सेवा शुरु गरिएको र यहाँबाट ल्याव, सहुलियत दरमा औषधि उपलब्ध लगायत का सेवा थालिएका बताउनुभयो ।
वडा नं. १ का वडाध्यक्ष मोहन लुहार विकले थारु जातिमा सिकलसेलको समस्या बढ्दै गएकाले उपचारात्मक र प्रवद्र्धनात्मक हिसावले उपचार र परामर्श दिन, रोग लाग्नबाट बच्न सचेतना जगाउन सहयोग हुने बताउनु भयो । उहाँले यहाँ अन्य पालिका र लुम्बीनी प्रदेशका नागरिकले पनि सेवा लिनसक्ने बताउनुभयो ।
टीकापुर अस्पतालका अध्यक्ष रामबहादुर भण्डारीले स्वास्थ्य क्षेत्रमा अर्को उपलब्धि हासिल भएको बताउँदै सिकलसेलका बिरामीलाई उपचारमा विभिन्न समस्या भइरहेका बेला सिकलसेल लाई प्राथमिकता दिएर स्वास्थ्य संस्था स्थापना भएकाले सहज हुने बताउनुभयो ।
पालिकाले कार्यविधि बनाएर नगरस्तरीय शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेको हो । अब केन्द्रमार्फत विशेषज्ञ सेवा, सिकलसेलका बिरामीको निदान, उपचार गर्नुका साथै स्वास्थ्य सचेतनाका क्षेत्रमा समेत काम गर्ने जनस्वास्थ्य निरीक्षण केवलसिँह सार्की बताउनुहुन्छ । कार्यक्रम सहजीकरण स्वास्थ्य शाखा सह संयोजक कमलबहादुर रावलले गर्नुभएको थियो ।