टीकापुर, २९ जेठ/टीकापुर नगरपालिका,नगरकार्यपालिकाको कार्यवाहक नगर प्रमुख चयन गर्ने निर्णय विवादमा परेको छ ।
कार्यपालिकाले २०८२ फागुन मा रामबहादुर नगार्जीलाई कार्यवाहक नगरप्रमुख चयन गरेको थियो भने २०८३ जेठ १४ गते बसेको कार्यपालिका बैठकको बहुमतले बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख तोकेको थियो ।

टीकापुर नगरपालिकाका निर्वाचित नगर प्रमुख र उपप्रमुख पदमा नरहेकाले कार्यपालिका सदस्यबाट कार्यवाहक नगरप्रमुख बनाउनु पर्ने वाध्यता छ । कार्यवाहक नगरप्रमुख अर्को सदस्य छानिएपछि तत्कालीन कार्यवाहक प्रमुख रामबहादुर नगार्जी सर्वोच्च अदालत जानु भएको छ ।
आफूलाई हटाएर अर्को कार्यवाहक हुन नहुने भन्दै अन्तरिम आदेशको माग लिएर सर्वोच्च अदालत जानु भएका रामबहादुर नगार्जीले अन्तरिम आदेश पाउनु भएन तर सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै बलिराम चौधरीलाई कार्यवाहक बनाउने कार्यपालिका को निर्णय अहिलेलाई कार्यान्वयन नगर्नु र असार ८ गते दुवै पक्ष अदालतमा उपस्थित हुन आदेश दिएको छ ।


तत्कालीन कार्यबाहक नगार्जी लाई कार्यपालिकाका बहुमत सदस्यले हटाएको र चौधरीलाई सर्वोच्च्ले काम गर्न पनि रोकेकाले असार ८ गतेसम्म टीकापुर नगरपालिका नेतृत्व संकटको अवस्था आएको छ ।
असार ५ गते आउदो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याउने मिति तय भैसकेकोमा कार्यवाहकको किचलोले अन्योल सृजना भएको छ ।
नेपालको संविधान र कानुनहरु मा नगर प्रमुख नभए उपप्रमुख, उपप्रमुख नभए कार्यपालिका सदस्यलाई कार्यवाहक बनाउने व्यवस्था भएपनि
कार्यवाहकलाई बहुमतले फेर्न पाइने वा नपाइने प्रष्ट व्यवस्था नभएकाले सर्वोच्च को व्याख्या आवश्यक रहेको अधिवक्ता गम्भीरसिंह ऐरले बताउनुभयो ।