–एकीन्द्र तिमिल्सेना–
टीकापुर, १८ असार/टीकापुर नगरपालिकाको १९ औं नगरभाले आ.व. २०८३/८४ को लागि १ अर्ब ३ करोड ६७ लाख ७७ हजार रुपियाँको बजेट सार्वजनिक ल्याएको छ ।
बुधबार बसेको सभाले सङ्घीय सरकारबाट ६५ करोड ५६ लाख रुपियाँ, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड ६६ लाख रुपियाँ र आन्तरिक आयबाट २४ करोड ४७ लाख आय हुने अनुमान गरेको छ ।
आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको विनियोजित बजेटबाट सशर्त बाहेकको बजेट प्रशासनिक खर्चमा २१ करोड रुपियाँ, नगरपालिका केन्द्रबाट सञ्चालन हुने आयोजनाका लागि ९ करोड ८० लाख रुपियाँ, विभिन्न शाखाहरूको लागि २ करोड ३५ लाख रुपियाँ, नगर वडा गौरवको आयोजनाको लागि ९ करोड ५० लाख रुपियाँ,नगरस्तरीय आयोजनाको लागि ९ करोड ५० लाख र वडाहरूको पुँजीगत खर्चका लागि ६ करोड ३१ लाख रुपियाँ विनियोजन गरेको छ ।
नगरप्रमुख, उपप्रमुख, कार्यवाहक प्रमुख पनि नभएको टीकापुर नगरपालिकाले ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा सभा बसेको छ । सभामा नीति तथा कार्यक्रम वडा नं १ का वडाध्यक्ष मोहन बिकले प्रस्तुत गर्नुभएको छ भने आर्थिक विधेयक वडा नम्बर २ का वडाध्यक्ष दीपक चौधरीले प्रस्तुत गर्नुभएको छ ।

कर छुट र नयाँ नीति
टीकापुर नगरपालिकाको सभाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई नगरपालिका बुझाउनुपर्ने राजस्व शुल्क १० वर्षका लागि छुट दिने नीति लिएको छ । विदेशी नागरिकलाई व्यवसायी दर्ता गर्नुपरेमा २५ हजार धरौटीे लिइ व्यवसाय दर्ता गरी सञ्चालन गर्न दिने व्यवस्था गरेको छ । अवैध चोरी निकासी रोक्न प्रहरीले पक्राउ गरी भएको दण्ड जरिवानाबाट नेपाल प्रहरीलाई २० प्रतिशित प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ ।
यस्तै सरकारको स्वामित्वमा रहेको घर जग्गा, सरकारी अस्पताल को जग्गा, गुठीको जग्गा, मुनाफाको उद्देश्य नराखी सञ्चालन गरिएका शिक्षण संस्था, कम्पनी, समिति, प्राधिकरण, बोर्डको घर जग्गा, मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका संघसंस्थाको घरजग्गा, धार्मिक संस्थाहरूको घरजग्गा, खानेपानी, मसानघाट जस्ता सार्वजनिक स्थलहरूका घर र घरजग्गा सम्पत्तिमा कर नलाग्ने नीति लिएको छ ।
नगरपालिकाका मातहतका बहालमा लगाएका सटर कवलहरूको भाडा असुलीका लागि विशेष व्यवस्था गरेको छ । नगरपालिकाको आर्थिक विधेयकले तोकिएको समयमा भाडा बुझाउनेलाई जरिवाना छुट देखि किस्ताबन्दीको सुविधा दिने व्यवस्था गरेको छ । टीकापुर नगरपालिको भाडामा लगाएको सटरबाट तीन करोड रुपियाँ भन्दा बढी रुपियाँ असूली गर्न बाँकी रहेको राजश्व प्रमुख नन्दबहादुर केसीले बताउनुभयो ।
मुद्दाले नगर सभा ढिलाइ
टीकापुर नगरपालिकाको नगरप्रमुख र उपप्रम्ख दुवै पद रिक्त भएको आवस्थामा कार्यवाहक नगरप्रमुख को हुने भन्ने विवाद अदालत पुगेपछि नगरसभा गर्न ढिलाई भएको हो । २०८२ फागुनमा कार्यपालिकाको बहुमत सदस्यले कार्यवाहक नगरप्रमुख चुनिनु भएका रामबहादुर नगार्जी लाई जेठ १४ गतेको कार्यपालिका बैठकको बहुमत सदस्यले हटाएर बलिराम चौधरीलाई कार्यवाहक प्रमुख बनाएको थियो ।
चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले असार ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो तर नगार्जी त्यस अघि नै सर्वोच्च अदालतमा पुगेपछि चौधरीलाई कार्यवाहकको रुपमा काम नगराउनु भनी अल्पकालिन आदेश जारी गर्दै असार ८ गते दुवै पक्षलाई बोलाएको थियो । असार ८ गतेको सुनुवाई असार २२ का सरेपछि सभाका ज्येष्ठ सदस्य जयराम थारुको सध्यक्षतामा सभाको बैठक बसी बजेट पारित गरेको हो ।
असार १० गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था र भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै सभा गर्न गरेको निर्देशन अनुसार बैकल्पिक व्यवस्था गरेर पनि सभा गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले बताउनुभयो । अदालत जानु भएका रामबहादुर नगार्जी सभामा उपस्थित हुनु भएन ।
नगरपालिकाका पूर्व प्रमुख तपेन्द्रबहादुर रावलले संवैधानिक व्यवस्थाको सम्मान गर्दै जनसरोकारको विषय भएकोले राजनीतिक विवाद लम्बिदै जाँदा सभाका सदस्यले निकास दिन जरुरी रहेको बताउनुभयो ।