सम्पादकीय
आलोचना मात्र गर्ने बानी नेपालीमा परिसक्यो । हरेक सरकारको आलोचना मात्र गर्ने तर नागरिकले निभाउनुपर्ने भूमिकाको बारेमा ध्यान नदिने बानी छ । बिपद्मा एक भएर लाग्नुपर्नेमा यसमा पनि राजनीति गर्न थालिएको छ । करिब १४ सय बढी मान्छेको ज्यान गएको छ भने सयौं बेपत्ता छन् । जसले आफन्त र सर्बस्व गुमाएका छन् उनीहरुको हालत कस्तो होला ?खर्बाैको सम्पत्ति नास भएको छ । एकातिर यस्तो बिपत्ति परेको छ भने अर्काे तर्फ राजधानी जोड्ने मुख्य सडक कृष्णभिरमा पहिरो गएर समस्या भएको छ ।यातायात अबरुद्ध भएको छ । यस्तोमा समस्या हुनु स्वभाविकै हो । ग्यास देखि हरेक कुरा काठमाण्डौ पुग्ने सडक अबरुद्ध भएपछि केही दिन समस्या हुन्छ नै । ग्यास नभएपनि अब बिगतको जस्तो बिद्युत अनियमित छैन , इलेक्ट्रोनिक चुलोबाट खाना पकाउन विकल्प छ । विकल्प भएकाबेला ग्यास जमा गरेर राख्नुपर्ने कारण नै छैन । घर भएकाहरुले इलेक्ट्रोनिक चुलोमा खाना पकाए त धेरै सहज हुन्थ्यो । संकटका बेला पनि केही कम्परमाइज नगर्ने सोचले हाम्रो चरित्र र सोच कस्तो छ भनेर प्रष्ट हुन्छ । कुनै पनि सरकारले विकसित मुलुकको जस्तो रातारात काम गर्न सक्दैन । नेपालको अर्थतन्त्र र भौगोलिक कारणले सबै कुरा रातारात गर्न सकिदैन । आफुले देशका लागि खेल्नुपर्ने भुमिकाको बारेमा सकारात्मक सोच राखेको पाइदैन । भोट हालेका हौं अब सबै समस्या रातारात समाधान हुनुपर्छ भन्ने सोच पालेर बसको छौ । पुराना सरकारले जनताको भावना विपरित काम गरे भनेर व्यापक गुनासो भयो । पुरानाले सबै नराम्रा काम मात्र गरेका थिएनन् । शुसासनको पाटोमा काम गर्न सकेनन् त्यो सत्य कुरा हो तर केही काम पनि भएन भनेर भन्नु गलत हुन्छ । केही कमजोरी भएर नै असुन्तुष्टि बढ्दै गयो । तर यतिखेर नयाँ सरकार आएको छ । फागुनमा निर्बाचन भएर आएको सरकारले सुधारको काम गर्न लागेको थियो । यस्तोमा भदौं १० गते आएको बाढीले सरकारको ध्यान बाढीग्रस्त क्षेत्रमा छ । सरकारको ध्यान विपत्तिमा छ ,यस्तोमा आलोचना गर्नुभन्दा नागरिकको भुमिका निभाएर केही समय सास्ति बेहोर्न तयार हुनुपर्छ । तसर्थ जनताले विपत्तिमा सरकारलाई साथ दिनु पर्छ । विपत्तिमा सरकार र जनता एक भएर काम गर्नु पर्छ । देश एक भएर विपत्तिको सामना गर्न सबै लाग्नु पर्छ । विपत्तिमा पनि सरकारको आलोचना गरेर बस्ने हो भने कसले काम गर्न सक्छ ? सरकारको नियत अहिलेसम्म ठिक छ तर कतिपय अवस्थामा शैलीमा समस्या आयो होला । हरेकले आलोचनामा समय खर्च गर्ने हो भने कसैले पनि काम गर्न सक्दैन ।