नेपाली कांग्रेसको दुई पालिकामा अधिबेशन सम्पन्न, जानकीको सभापतिमा बिष्ट र जोशिपुरमा चौधरी

टीकापुर, २३ असाेज/नेपाली कांग्रेस नियमित महाधिबेशन पक्षधरले कैललाी क्षेत्र नम्बर १ को दुई पालिकामा शुक्रवार अधिबेशन सम्पन्न गरेको छ । कांग्रेसले जानकी गाउँपालिका र जोशिपुरमा अधिबेशन सम्पन गरेको हो । अधिबेशनले जानकीमा गोबिन्द बिष्टलाई सभापति मा चयन गरेको छ भने जोशिपुरमा बिश्वनाथ चौधरीलाई चयन गरेको छ ।

जानकीको उपसभापतिमा रामलखन चौधरी चयन हुनुभएको छ । सचिबमा झंकर थापा र शिबलाल चौधरी चयन हुनुभएको छ । यसैगरी सहसचिबमा शान्ति बिक र महेन्द्र चौधरी चयन हुनुभएको छ भने कोषाध्यक्षमा धन्सुराम उपाध्याय चयन हुनुभएको छ । ८ जना सदस्य चयन भएका छन् ।

जिल्ला सदस्यमा भिमबहादुर साउँद र जानकी चौधरी चयन हुनुभएको छ । उता जोशिपुरको उपसभापतिमा रेमी कुमारी चौधरी र बुधराम चौधरी चयन हुुनुभएको छ । सचिबमा रामचरण चौधरी र सुनिल चौधरी चयन हुनुभएको छ भने सहसचिबमा सुस्मिता मौनी चयन हुनुभएको छ । जोशिपुरमा संयोजक बिधिराम चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो भने जानकीमा संयोजक गोबिन्द बिष्टको सभापतित्वमा भएको  थियो ।


कैलालीको १३ वटै पालिकामा अधिबेशन सम्पन्न भएका छन् । असोज २६ गते सोमवार क्षेत्रीय अधिबेशन हुने क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक भुवनेश्वर अधिकारीले जानकारी गराउनुभयो ।‘ जिल्लाभरीका वडामा उत्साहाका साथ अधिबेशन भएर पालिका अधिबेशन सम्पन्न भएका छन् ’, अधिकारीले भन्नुभयो , ‘ अब हामी सबैको ध्यान क्षेत्रीय अधिबेशन भव्य तरिकाले गर्ने बिषयमा केन्द्रित भएको छ ।’ उहाँले वडा देखि नै निर्बिरोधको वातावरण बनाउँदा सकारात्मक सन्देश गएको भन्दै अधिबेशनले जनता र कांग्रेसको सम्बन्ध बिस्तार भएको बताउनुभयो ।

अधिकारीले कांग्रेस र जनताको ग्याप बढ्दै गएको थियो भन्दै यतिखेर गाउँ र सहरका जनतासंग भावनात्मक रुपमा सम्बन्ध बिस्तार गर्न सफल भएको दाबी गर्नुभयो ।

पालिकाको अधिबेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामजनम चौधरीले कांग्रेस बलियो बनाउन सबै लागेको बताउनु   भयो । स्वार्थका लागि कांग्रेस बिभाजन गर्ने काम भएको भन्दै नेता चौधरीले यतिखेर कांग्रेसका हरेक नेता कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जनता कांग्रेसमा कसले के गर्दै छ भनेर बाच गरिरहेको बताउनुभयो ।

अर्का केन्द्रिय सदस्य डाक्टर रणबहादुर रावलले पार्टी कव्जा गर्ने सोच पालेकै कारण यतिखेर कांग्रेस संकटमा परेको बताउनुभयो । उहाँले कांग्रेस कसरी बलियो बनाउने भन्दा पनि कसरी पार्टीको पद पाउन सकिन्छ भन्ने स्वार्थमा लाग्दा आज सिंगो कांग्रेस कमजोर भएको बताउनुभयो । प्रजातन्त्रको रक्षा गर्नु हरेक प्रजातन्त्रवादीको कर्तव्य भएको भन्दै नेता रावलले कांग्रेस बचाउन प्रजातन्त्रवादीले निस्वार्थ रुपमा लाग्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा महासमिति सदस्य नवराज रावल , नेता बीरबहादुर हमाल, महाधिबेशन प्रतिनीधि उमा महतौं , पूर्ब महासमिति सदस्य धर्मराज न्यौपाने , दलित संघका केन्द्रिय सदस्य हर्कबहादुर बिश्वकर्मा ,शिक्षा बिभागका सदस्य तारामान रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कैलाली क्षेत्र नम्बर १ मा तीन वटा पालिका रहेकोमा टीकापुरको अधिबेशन बिहिबार नै सम्पन्न भएको छ ।