नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत वडा अधिबेशन शुरु

टीकापुर, १६ असोज/नेपाली कांग्रेस नियमित महाधिबेशन पक्षधरले १५ गते बाट वडा अधिबेशन शुरु गरेको छ । यसै क्रममा कैलालीमा पनि वडा अधिबेशन शुरु भएको छ । कैलाली क्षेत्र नम्बर १ को जोशिपुर १ र जानकी ७ मा पनि अधिबेशन  भएको छ ।
जोशिपुर १ का संयोजक रामस्वरुप चौधरीको सभापतित्व मा वडा अधिबेशन भएको हो भने जानकी ७ मा उपेन्द्र महतौंको सभापतित्वमा अबिधेशन भएको छ । दुबै वडामा संयोजक सभापति मा चयन हुनुभएको छ । जोशिपुरको वडा अधिबेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्ब मन्त्री रामजनम चौधरीले पहिला पनि वडा अधिबेशन भयो अहिले फेरी हुँदै छ भनेर अलमल भएको बताउँदै निर्बाचन आयोगले बिना प्रमाण गगन थापालाई मान्यता दिदा समस्या भएको बताउनुभयो । अहिले अदालतले निस्सा दिएका कारण कोही पनि आधिकारीक नभएको र गगन थापाले एकलौटी अधिबेशन गर्न थालेपछि आफुहरु पनि गर्न बाध्य भएको बताउँनुभयो ।
‘वर्तमान सभापति शेरबहादुर देउवा दुई कार्यकाल सभापति भए पछि अर्काे कार्यकाल बन्न पाउने बिधानले नै रोकेको छ यस्तो अवस्थामा सहज रुपमा नेतृत्व हस्तान्तरण हुनेथियो, नेता चौधरी ले भन्नुभयो, ‘ सभापति बन्न चाडो चाडो अधिबेशन गर्दा दुईवटा अधिबेशन हुन गयो ।
अर्का केन्द्रिय सदस्य डाक्टर रणबहादुर रावलले हाम्रा साथी गलत बाटोमा लाग्दा सबैले दुःख पायौ भन्नुभयो । ‘आधा हामी यता छौ आधा उता हुुनुहुन्छ , आम कार्यकर्ता खुसि छैनन् ,’ डाक्टर  रावलले भन्नुभयो, ‘ अभिभावकको अपमान गरेर नेतृत्व हत्याउनेहरुले न पार्टी चलाउन सक्छन् न देश चलाउन सक्छन् ।’ उहाँले हामी बाट गल्ती भएको भए सच्याउनु पर्छ , वाटो बिराएकाहरु सुध्रिएर एकजुट हुन जरुरी छ भन्नुभयो । कार्यक्रममा नेता बिर बहादुर हमालले नेतृत्व हत्याउन गरिएको बिशेष महाधिबेशन नै कांग्रेसलाई समस्या भएको बताउनुभयो । झण्डा र रुखका नाममा भ्रम सृजना गर्ने काम भएको छ भन्दै उहाँले हरेक इमान्दार कार्यकर्ता एक भएर नियमित महाधिबेशन गर्नमा जुट्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा महासमिति सदस्य नवराज रावल, महाधिबेशन प्रतिनीधि जगतबहादुर सिंह रावल र रामबहादुर भण्डारी , पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, क्षेत्रीय सचिब धनञ्जय रिमाल (फकिर) महिला संघका जिल्ला कोषाध्यक्ष निर्मला कडायत ले १५ औं अधिबेशन भव्य रुपमा सफल पार्न इमान्दार कांग्रेस एक भएर लाग्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा स्वागत जोशिपुर गाउँका संयोजक बिधिराम चौधरीले गर्नुभएको थियो ।  जोशिपुरमा कार्यक्रम सञ्चालन सचिब बिश्वनाथ चौधरीले गर्नुभएको थियो भने जानकीमा छत्र बिष्ट मुन्नाले गर्नुभएको थियो ।
उता जानकी ७ मा महाधिबेशन प्रतिनीधि तथा गाउँपालिकाका उपाध्यक्ष उमा महतौंको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ । दुबै वडामा ३१÷३१ जना क्षेत्रीय प्रतिनीधि चयन भएको महाधिबेशन प्रतिनीधि महतौंले जानकारी गराउनुभयो ।
वाँकी वडाका १६ गते देखि १८ गतेसम्ममा सक्ने जनाइएको छ । यता ठूलो वडा भनेर चिनिने टीकापुरको वार्ड नम्बर १ को १८ गते जेसिज हलमा हुने भएको छ । वडा अधिबेशनमा सहभागि हुन कांग्रेसका सभापति देउवाले अपिल गर्नुभएको छ । बिशेष महाधिबेशन पक्षधरको क्षेत्रीय अधिबेशन सकिएको छ भने असोज १८ गते देखि २२ गतेसम्म महाधिबेशन काठमाण्डौमा गर्ने तय भएको छ ।