बालबालिकाको मानसिक स्वास्थ्य समस्या पहिचान तथा प्रेषणसम्बन्धी अभिमुखिकरण

टीकापुर, १५ जेठ/बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या पहिचान तथा प्रेषणसम्बन्धी अभिमुखिकरण कैलालीको टीकापुरका सामुदायिक विद्यालयमा गरिएको छ । सिविन नेपाल (बाल हेल्पलाइन) कैलालीको आयोजनामा टीकापुरका ३ सामुदायिक विद्यालय र भजनीमा कार्यक्रम गरिएको हो ।
जेठ ११ गते कैलालीको भजनी स्थित महुन्याल मावि, १२ गते राष्ट्रिय मावि बेलवा, १३ गते त्रिभुवन मावि बटनपुर र बिहीबार कर्णाली मावि टीकापरमा शिक्षक र विद्यार्थीलाई अभिमुखिकरण गरिएको छ । विद्यालयमा किशोरी मा रुपान्तरित विकार बढेपछि टीकापुर नगरपालिकाको माग अनुसार पालिकासँगको समन्वयमा बाल हेल्पलाइनले साइकोलोजिष्ट ल्याएर यहाँ सचेतनामूलक कार्यक्रम गरेको हो ।
४ विद्यालयका सयौँ बालबालिका र शिक्षकलाई अभिमुखिकरण गरिएको सिविन नेपाल (बाल हेल्पलाइन) कैलालीका जिल्ला संयोजक हरिलाल चौधरीले बताउनु भयो । कान्ति बाल अस्पतालका सिनियर साइकोलिजिस्ट अञ्जन कुमार ढकाल समस्यामा रहेका बालबालिकामा तनावजन्य समस्या, लागू औषध सेवनमा लागेका समस्या भएका बालबालिका बढी पाइएका बताउनुहुन्छ । उहाँ कान्ति बाल अस्पतालबाट फोकल शिक्षकमार्फत समस्यामा रहेका बालबालिकालाई अनलाइन सेवा दिन सकिने बताउनुभयो । ढकालका अनुसार समस्यामा रहेका सबै बालबालिकालाई अनलाइनबाटै चिकित्सकीय सेवा दिने, मानसिक समस्याका विद्यार्थी पहिचानका लागि शिक्षकलाई समेत अभिमुखिकरण गरिएको बताउनु      भयो ।
कार्यक्रममा कान्ति बाल अस्पतालका सिनियर साइकोलिजिस्ट ढकाल र साइकोलोजिष्ट अनिल शर्माले बालबालिका र शिक्षकसँग विकाससम्बन्धी विकार, चिन्ता, ब्यग्रता तथा तनावजन्य समस्या, उदासिनता, बौदिक अपांगता, अटिजम भएका बालबालिका, गम्भिर मानसिक स्वास्थ्य समस्या, कन्भर्सन डिसअर्डर, बालबालिका को पढाईमा ध्यान केन्द्रीत गर्न नसक्ने वा ज्यादा चञ्चले स्वभाव बारे जानकारी दिइएको छ । यसका साथै समस्यामा परेका बालबालिकाले लिनसक्ने सहयोग र सल्लाहबारे समेत जानकारी दिनुभएकोे छ ।
समस्यामा परेका बालबालिकाले दश नौ आठमा फोन गरेर परामर्श लिन सक्ने सुविधा छ । यहाँ फोन गरेमा समस्यामा परेका बालबालिका को तुरुन्तै उद्दार गर्ने व्यवस्था छ । बाल हेल्पलाइन कैलालीले सन् २०२५ मा ३२२ घटना दर्ता गरेको छ । जसमा १९६ बालिका र १२६ बालक रहेका छन् । हेल्प लाईनमा २ हजार ४४२ टेलिफोन आएका,४ हजार २२३ लाई सचेतना जगाइएको, १६ बालिका र २ बालक गरी १८ जनालाई कानूनी सहायता दिइएको, २० बालिका र १९ बालक गरी ३९ जनालाई आपतकालिन संरक्षण दिइएको छ । संस्थाले ६१ बालिका र ४७ बालक गरी १०८ बालबालिका लाई शैक्षिक सहयोग गरेको छ ।