टीकापुर, ११ साउन/कैलाली को जानकी गाबिस ४ मुनुवामा यस बर्ष १५ बिगाहा जग्गामा मेसिनद्धारा धान रोपाई गरिएको छ । त्यस क्षेत्रका १०÷११ जना किसानले मेसिनको सहयोगले धान रोपाई गरेका हुन् । एक बिगाहामा धान रोपाई गर्न मेसिनले एक घण्टा लाग्ने गरेको किसानको भनाई छ ।
स्थानीय बिज बृद्धि कृषि सहकारी संस्थासंग भएको मेसिन किसानले घण्टाको ६ हजार रुपैया तिर्ने गरी प्रयोग गरेका हुन् । यस क्षेत्रमा पहिलो पटक यस्तो मेसिन आएको उनीहरुको भनाई छ । “खेति गर्न सबै भन्दा झंझटिलो भनेको धान रोपाई हो अब धान रोपाई गर्ने मेसिन आएपछि धेरै सजिलो भयो,“स्थानीय मानबहादुर कठरियाले भन्नुभयो , “ यो मेसिन किसानले किनेर प्रयोग गर्न सक्दैनन् । ” सरकारले किसानका लागि औजारहरु सहज रुपमा उपलव्ध गरायो भने गाउँमा कृषि योग्य जग्गा बाँझो हुदैनन् भन्दै कठरियाले खेति गर्दा हरेक कठिनाई भोग्नु परेका कारण कृषि पेशामा आकर्षण घट्दै गएको बताउनु भयो ।

बीजबृद्धि सहकारीलाई धान रोपाई गर्ने मेसिन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कैलालीले ७५ प्रतिशत अनुदानमा उपलव्ध गराएको हो । “चैते धान २ बिगाहा र बर्षे धान करिब १५ बिगाहा जग्गामा सहकारीमा भएको मेसिनले धान रोपेको हो, ” सहकारीका अध्यक्ष बिजय कठरियाले भन्नुभयो , “ १५ लाख ३८ हजार रुपैया पर्ने मेसिनमा ७५ प्रतिशत अनुदान पाएका हौ ।” मेसिनले धान रोप्न सहज भएको भएपनि धान रोपाइका लागि बीउ उमार्न चाहिने टे« धेरै चाहिने भएकाले पहिलो पटक खर्चिलो हुने गरेको उहाँको भनाई थियो ।
उहाँका अनुसार एउटा ट्रे २ हजार देखि २५ सयसम्म पर्छ र एक कठ्ठा जग्गाका लागि करिब ८ वटा टे« आवश्यक पर्छन् । “एक बिगाहामा धान रोप्न टे« का लागि करिब ४० हजार रुपैया खर्च लाग्छ,” अध्यक्ष कठरियाले भन्नुभयो, “सरकारले टे« खरिदका लागि अनुदान या सहुलीयत रुपमा किन्न पाउने वातावरण बनाउन जरुरी छ ।” उक्त सहकारी मार्फत किसानले धान गहुँ तोरी लगायतका खाद्यन्नको बीउ उत्पादन गर्दै आएका छन् । सहकारीमा आवद्ध एक सय १७ जना सहित अन्य गरी करिब दूई सय जना किसानले बीउ उत्पादन गर्दै आएका छन् । गत बर्ष करिब चार हजार कुण्टल धानको बीउ उत्पादन भएको थियो भने करिब ३५ सय कुण्टल गहुँको बीउ उत्पादन भएको सहकारी को भनाई थियो । यहाँ उत्पादन भएको धानको बीउ कैलाली, कञ्चनपुर र बर्दियामा बिक्री वितरण हुँदै आएको छ । उक्त सहकारीले आफ्ना सदस्यहरुलाई कम्माईन र हार्डबेस्टर सेवा सुपथ मुल्यमा दिनेको छ । बीउ उत्पादन का लागि आफ्नो पहिचान बनाएको बिजबृद्धि सहकारीले बीउ उत्पादन गर्न थालेपछि त्यस क्षेत्रका किसानले राम्रो आम्दानी गर्न थालेका छन् । किसानले उत्पादन गरेको बीउ बिक्री गर्न समस्या छैन भने मुल्य पनि रामै्र पाउने गरेका छन् ।