रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समिति को २८औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शुरु

टीकापुर, ६ असोज/रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समिति को २८औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन टीकापुरमा भएको   छ । मूलकुला समितिका अध्यक्ष कुमारराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद लालवीर चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै पूर्व सांसद चौधरीले सिचाई आयोजना बनाउन दिनरात खटेका मानिसहरु लाई बिर्सन नहुने बताउनुभयो । उहाँले आयोजना सञ्चालन गर्नु अघि सम्झौता गर्दा कम्तिमा ४ हेक्टर जमिनसम्म पानी वितरण प्रणाली बनाउने सम्झौता गरेको भए पनि त्यो नबनेको बताउनुभयो ।
उहाँले आफूले लामो समय खुला समितिमा बिताएकाले आउँदा दिनमा पनि किसान सिचाई विस्तार आयोजना सञ्चालन लगायतका कुरामा सहयोगीको भूमिकामा रहने बताउनुभयो ।
आयोजनाका आयोजना निर्देशक प्रेमराज घिमिरेले कोभिड  महामारी र २०७२ को भूकम्पले आयोजनाको केही काममा ढिलाई भएको बताउनुभयो । उहाँले      निरन्तर कुला समिति, किसानको सरसल्लाह अनुसार विकास निर्माण र सिँचाई सुविधा विस्तार जस्ता कार्यहरु सञ्चालन गर्दै जाने बताउनुभयो ।
 उहाँले अन्य जिल्लाका सिँचाइ उपभोक्ताहरूले यहाँको उपभोक्ता समितिको कामहरूको अनुगमन गर्ने र सिकेर जाने भएकाले यहाँ राम्रो काम भएको बताउनुभयो ।
सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरत कँडेलले अहिले आयोजनाको क्षेत्र विस्तार भएको बताउँदै यस वर्ष किसानलाई छनोट गरी कृषि कार्यक्रमहरूको सम्झौता भइरहेको बताउनुभयो । उहाँले खाद्यान्न बालीको बिउ उत्पादन, चैतेधान, आलु खेती तरकारी तथा विभिन्न उत्पादन लगायतका कार्य अघि बढिरहेका बताउँदै, कोल्डस्टोर निर्माण कार्य पनि ९५% सकिएकाले यही मङ्सिरबाटै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।
राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गुणदेव पन्तले किसानले सहज पानी पाउने व्यवस्था गर्न केही सुधार आवश्यक रहेको बताउँदै हाइड्रोपावर र सिँचाई सुविधा छुट्टाछुट्टै गराउनुपर्ने बताउनुभयो ।
रानी कुलाका अध्यक्ष वीरबहादुर खत्रीले किसानले सूचना पाउन कठिन भएको बताउँदै कसरी अघि बढ्ने र समयमै किसानसम्म सूचना कसरी पुगाउने भन्ने बारेमा एकपटक छलफल आवश्यक रहेको बताउनुभयो ।
कुलरिया कुला अन्तर्गतका कुला का अध्यक्ष पुष्पराज जोशीले किसानले खोजेका बेला खेतसम्म पानी पुगाउन नसकेको बताउँदै कुला बनिरहेका ठाउँमा अनुगमन गर्नुपर्ने बताउनुभयो ।
रानीकुला अन्तर्गत साहीपुर कुलाका अध्यक्ष धर्मराज जैसीले आयोजनाका काम धेरै अधुरा रहेकाले सिँचाइ सुविधा किसानले पाउन नसकेको, समयमा सूचना नपाउँदा किसानले दुःख  जेलिरहेकोले यसलाई व्यवस्थापन गर्नुपर्ने र बाह्रै महिना पानीको सुविधा हुनु पर्ने बताउनुभयो ।
 कार्यक्रममा कोषाध्यक्ष योगेन्द्र बहादुर साउदले ९३ लाख ३५,४१० बराबरको आयुव्यय प्रस्तुत गर्नुभएको छ । उपाध्यक्ष कृतिबहादुर रोकायाले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन  सचिव परशुराम  महत्वले गर्नुभएको थियो। साधारण सभाले मूलकुला समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।