शिक्षकका सेवा सुविधा वृद्धि गर्ने: कार्यवाहक नगरप्रमुख राम बहादुर नगार्जी

टीकापुर, १५ असोज/नेपाल शिक्षक महासङ्घ टीकापुर नगर कार्यसमिति कैलालीको पूर्ण घोषणा कार्यक्रम भएको छ । नेपाल शिक्षक महासङ्घ टीकापुर नगर कार्य समितिका निवर्तमान अध्यक्ष रघुनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख राम बहादुर नगार्जीले शिक्षकले उत्पादन गरेका व्यक्ति देशको नै शक्ति भएकाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताउनुभयो । यसअघि शिक्षकका माग सम्बोधन नभए पनि आफ्नै कार्यकालमा सेवा सुविधा बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगर अध्यक्ष धर्मराज शर्माले आफ्नो काँधमा जिम्मेवारी आएकाले निवर्तमान कार्यसमिति, शिक्षक सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै शिक्षकका माग र अधिकारका लागि सधैँ अग्रसर  रहने बताउनुभयो ।
महासंघका निवर्तमान नगर अध्यक्ष रघुनाथ उपाध्यायले शैक्षिक विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शिक्षकलाई पेशागत सुरक्षा चाहिएको र आफूहरू पनि शैक्षिक गुणस्तर सुधारका लागि जिम्मेवार रहेको बताउनुभयो ।
 कार्यक्रममा नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष गणेश प्रसाद ओझाले शिक्षकका सेवा सुविधा बढाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला, शिक्षा अधिकृत नरेश अवस्थी, शिक्षा समिति सदस्य जोगी रावल लगायतले बोल्नुभएको थियो । भद्र रावलले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन निवर्तमान नगर सचिव राजाराम ढकालले गर्नुभएको थियो ।
संघको नगर अध्यक्षमा धर्मराज शर्मा, सह अध्यक्षमा हेमप्रसाद भट्ट, उपाध्यक्ष दिपक राज जोशी, सचिव यशोदा तिमिल्सिना, सह सचिव हृदयराज रेग्मी, सह सचिव महिलामा सुमन खड्का यसअघि नै चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरूमा लक्ष्मी बिष्ट, अमित कुमार चौधरी, पूर्ण विक, रामबहादुर चौधरी, अशोक बिक, नन्दा खत्री, जितबहादुर डगौरा, कल्पना खड्का, आशा कुमारी भट्ट र रतनबहादुर  परियार चयन हुनुभएको छ ।