शिक्षालयको चमेना गृहमा लापरवाही

टीकापुर, १० साउन/टीकापुर प्राविधिक शिक्षालयका चमेना गृह सञ्चालकले आपूर्ति गर्ने खाद्य पदार्थमा गम्भीर लापरवाही गरेको भेटिएको छ ।
शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुले खाना र खाजा खाने चमेना गृहका सञ्चालक समशेरबहादुर साउदले सडेगलेका, म्याद नाघेका खानेकुरा खुवाउने गरेको भेटिएको छ ।
शिक्षालयका विद्यार्थीहरुले हेलो सरकारमा गुनासो गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृतहरुले शुक्रबार निरीक्षण गर्दा सञ्चालक साउदले गम्भीर लापरवाही गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भेटिएको हो ।
शिक्षालयको भान्सामा रहेको अचार, वेसन दाल गुन्द्रुक ढुसी लागेको, मुसाले खाएको म्याद नाघेको बिस्कुट, सरसफाईको अवस्था हेर्दा भान्सा धेरै फोहोर रहेको भेटिएको खाद्य अधिकृत आरती भट्टले जानकारी दिनुभयो ।
चमेना गृह सञ्चालकलाई आयन्दा त्यस्तो लापरवाही नगर्ने शर्तमा शिक्षालयको रोहबरमा राखी निर्देशन दिइएको छ । २०८३ असार मसान्तमा ठेक्का सकिएको तर नयाँ व्यक्ति छनौट नभएकाले केही दिनका लागि शिक्षालयको निगरानीमा खाद्य स्वच्छता कायम गरी खाना, खाजा खुवाइने शिक्षलयका निमित्त प्रमुख विकास रानाले प्रतिवद्धता जनाउनु भयो ।
चमेना गृह सञ्चालकले गम्भीर लापरवाही गरेता पनि कुनै कारवाही नगरी पहिलो पटकलाई निर्देशन दिएर छोडिएको छ । सडेगलेका र बिग्रिएको अवस्थामा रहेका खाद्य सामग्रीहरुलाई भने नष्ट गरी खाल्डोमा गाडिएको छ ।
चमेना गृह सञ्चालक भने ढुसी परेका र म्याद नाघेका सामग्री बाख्रालाई खुवाउने भन्दै खाल्डोमा नपुरी फिर्ता माग्न थालेका थिए ।