शिव मन्दिरमा लघु रुद्राभिषेक कार्यक्रम

टीकापुर, ९ भदौं/नेपाल ब्राहमण समाज नेपाल टीकापुरको आयोजना मा कैलाशेश्वर शिवर मन्दिरमा १ सय २१ लघु रुद्राभिषेक गरिएको छ । पूर्णता, स्थिरता र शिव कृपा प्राप्तिका लागि ११ जना पण्डितको सहयोगमा १ सय २१ रुद्राभिषेक गरिएको बताइएको छ ।
नेपाल ब्राहमण समाज नेपाल टीकापुरका अध्यक्ष डम्बर उपाध्याय रिमालले साधकको मनोकामना पूर्ति, पापमोचन र जीवनमा शान्ति(समृद्धि ल्याउने विश्वासका साथ हरेक वर्ष देशभरिका शिवालयमा रुद्राभिषेक कार्यक्रम गर्ने गरिएको बताउनु भयो ।
अध्यक्ष रिमालले लोक कल्याण का लागि नजिकको शिलालयमा लघु रुद्राभिषेक १२१ पटक गरिएको बताउनुभयो । शिवपुराण अनुसार रुद्राभिषेक गर्दा शिवजी अत्यन्त प्रसन्न हुने भएकाले १२१ पटकको जाप वा अभिषेकले साधकलाई दीर्घायु, आरोग्य, ऋणमोचन र मोक्षसम्म को मार्ग प्रशस्त गर्ने विश्वासका साथ दीर्घकालीन शान्ति र स्थिरताका लागि कार्यक्रम गरिएको उहाँको भनाइ छ ।
‘लघु रुद्राभिषेक गर्नाले मानसिक शान्ति, आरोग्य र दीर्घायु, समृद्धि, पापमोचन र मोक्षमार्ग अर्थात शिव कृपाले साधकलाई आध्यात्मिक उन्नति र मोक्षको मार्ग खुल्ने विश्वास छ’, उहाँ भन्नुहुन्छ, ‘‘हरेक वर्ष साउनमा गरिने रुद्राभिषेक यस वर्ष मलमासका कारण ढिलो गरिएको हो ।’’
धार्मिक तथा पर्यटकीय हिसाव ले महत्वपूर्ण मानिएको शिव मन्दिरको मुख्य मन्दिर निर्माण भइरहेको छ । पूरानो मन्दिर जिर्ण भएकाले करोडौँ लागतमा नयाँ मन्दिर निर्माण कार्य शुरु भएकाले मन्दिर निर्माण तथा विकासमा सबैले सघाउनुपर्ने ब्राह्मण समाजका केन्द्रीय प्रतिनिधि धनराज उपाध्याय बताउनुहुन्छ ।
‘मन्दिर निर्माण भइरहेको छ । मन्दिर निर्माणका लागि स्थानीयले सहयोग गरेको रकम सहित नगरपालिकाको बजेटले मन्दिर निर्माण थालिएको छ’, उहाँ भन्नुहुन्छ, ‘यसमा अझँै सबैको सहयोग आवश्यक छ ।’