शीत भण्डारको बांकी निर्माण कार्य शुरु, यसै वर्षबाट सञ्चालन गर्ने तयारी

टीकापुर, २८ बैशाख/रानी जमरा कुलरिया शीत भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको प्रथम साधारण सभा भएको छ । सभाले शीत भण्डार सञ्चालन समितिको नयाँ नेतृत्व चयन गर्नेछ । रानी जमरा कुलरिया शीत भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति को नेतृत्वका लागि आइतबार गणपुरक संख्या नपुगेपछि जेठ १० गते अर्को भेला बोलाउने निर्णय भएको छ ।
रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल कुला समिति टीकापुरका अध्यक्ष कुमारराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भरत कँडेलले शीत भण्डार निर्माणको अहिलेसम्मको अवस्था बारे जानकारी दिनुभयो । आयोजनाको सहयोगमा शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको छ । शीत भण्डार निर्माण गत वर्ष ८५ प्रतिशत निर्माण सम्पन्न भएको र यस वर्ष बाँकी काम शुरु भएको छ । शीत भण्डार निर्माणको बाँकी काम पूरा गर्नका लागि निर्माण ब्यवसायीलाई २०८३ को मंसिरसम्मको म्याद दिइएको छ । यसै वर्षबाट शीत भण्डार सञ्चालन गर्ने आयोजना को तयारी छ ।
बाकी रहेको निर्माण कार्य र विद्युत तथा रेफ्रिजेरेशन कार्य  भइरहेको छ । यी दुई कार्यका लागि छुट्टाछुट्ै ठेक्का गरी १ करोड ३४ लाख ६६ हजार ९१५ मा निर्माण कार्य शुरु भएको छ । अहिले आयोजनाको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लगानी छ ।
 यसअघि आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानीमा ७ करोड ०६ लाख ६९ हजारमा शीत भण्डार निर्माण भएको हो । एक हजार मेटिूक टन क्षमताको शीत भण्डार विशेष गरी आलु भण्डारका लागि प्रयोग गर्ने योजना छ । आयोजना ले शीत भण्डार सञ्चालनका लागि कार्यविधि निर्माण गदैछ र व्यवसायिक योजना बनाइसकेको छ । भवन निर्माणपछि जल उपभोक्ता मूल समतिीलाई हस्तान्तरण गर्ने र केही समय सञ्चालनमा लागि सघाउने आयोजना प्रमुख कँडेलको भनाइ छ ।
शीत भण्डार सञ्चालनका लागि उपभोक्ताले यसअघि १  करोड ३१ लाख लागत सहभागिता जनाएका छन् । यसपटक ३३ लाख लगानी गर्नुपर्नेछ । यस वर्ष जल उपभोक्ता समितिले ७ लाख लगानी गरेको बाँकी रकम उठ्ने क्रममा रहेको जनाइएको छ । उपभोक्ताले शीत भण्डार निर्माणका लागि तिर्नुपर्ने रकममा २०८१ सालमा टीकापुर नगरपालिकाले ७४ लाख सहयोग गरेको थियो भने चालु आर्थिक वर्षमा जानकी गाउँपालिकाले पनि १५ लाख छुट्याएको छ ।
उपभोक्ता समितिमा ४ हजार ५ सय ९६ शेयर सदस्य रहेका छन् । जसमा ७१ हजार ६ सय ८३ शेयर कित्ता रहेको छ भने शेयर रकम ७१ लाख ६८ हजार ३ सय पुगेको छ । अहिलेको  साधारण सभाका लागि ६ सय ७८ जना पार्षद रहेका थिए । कार्यक्रममा बोल्दै जानकी गाउँपािलकाका अध्यक्ष गणेश चौधरीले आयोजना शुरु गर्दा सिँचाइ सुविधा पुगाउने र कृषि उत्पादन बढाउने उद्देश्य मात्र रहे पनि विस्तारै शीत भण्डार, विद्युत उत्पादन जस्ता कार्य गरी सुविधा विस्तार गरेको बताउनुभयो । उहाँले पूर्खाका कुला आधुनिकीकरण भएका, विजुली उत्पादन गरी वार्षिक १५ करोड को विद्युत बिक्री भएकाले हाइडूोपावरको किसानले पनि शेयर पाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष चौधरीले हरेक परियोजना बाट लक्षित वर्गलाई फाइदा हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै शीत भण्डार सञ्चालनले पनि यहाँका किसान को आर्थिक स्तरमा सुधार आउनु पर्नेमा जोड दिनुभयो ।
टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खडक धामीले सिचाइ आयोजना ले किसानको क्षमता अभिवृद्धि, उत्पादन वृद्धिसँगै उत्पादन  भण्डारणमा समेत सघाउँदा खुशी लागेको बताउनुभयो । पहिले रानीजमराको कमाण्ड क्षेत्र टीकापुर, जानकी, भजनी नगरपालिका मात्र थियो भने अहिले तेस्रो चरणसम्म पुग्दा क्षेत्र विस्तार भएर लम्कीचुहा, जोशीपुर,  बर्दगोरिया घोडाघोडी नगरपालिका पनि थपिएकाले त्यहाँका किसानहरु शेयर सदस्य बन्न पाउने व्यवस्था छ ।
कार्यक्रम जल उपभोक्ता संस्था का सचिव परशुराम महत्तोले सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष कृतबहादुर रोकायाले गर्नुभएको थियो ।