शेयर सदस्यलाई सहुलियत सेवा दिन नवजीवनद्वारा साथी अस्पतालसंग सम्झौता

टीकापुर, १५ असोज/नवजीवन सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न निजी अस्पताल सँग सम्झौता गरेको छ ।
टीकापुर क्षेत्रका सदस्यहरूका लागि बुधबार टीकापुर स्थित साथी अस्पतालसँग पाँच वर्षका लागि सम्झौता गरेको छ ।
सम्झौता अनुसार नवजीवन सहकारीका शेयर सदस्य र तिनका परिवारले अस्पतालको सेवामा छुट सुविधा पाउने छन् । नवजीवन सहकारी संस्था टीकापुर शाखाका शाखा प्रबन्धक टेक बहादुर बोगटीले नवजीवन सहकारीको शेयरप्रमाण पत्र वा सदस्य कार्ड बोकेर उपचार गर्न आएमा सदस्यहरुलाई १० देखि १५ प्रतिशत छुट दिने जानकारी दिनुभयो ।
सम्झौता अनुसार जनरल बेड, जनरल सर्जरी, आइसीयू एनआइसीयू, क्याविन बेड, प्याथोलोजी टेष्ट, एम्बुलेन्स सेवामा १५ प्रतिशत छु दिइनेछ ।
फिजियो अकुपञ्चर थेरापीमा २० प्रतिशत, भिडियो एक्सरे,एक्सरे, इसिजी सेवामा दश प्रतिशत छुट हुनेछ ।
समझौता पत्रमा हस्ताक्षर गर्दै नवजीवन सहकारी संस्थाका अध्यक्ष गोपाल राज पाठकले टीकापुरमा साथी अस्पताल जस्तै बाँसगढीका लागि कौशल्या अस्पताल, सुखडमा सिएस अस्पतालल र धनगढीमा निसर्ग अस्पतालसँग सम्झौता गरिएको बताउनुभयो ।
यस्तै साथी अस्पतालका अध्यक्ष तपेन्द्र बिष्टले सस्तोमा गुणस्तरीय सेवा दिइरहेको साथी अस्पतालसँग नवजीवन सहकारीले सहकार्य गरेकोमा स्वागत गर्दै यो सहकार्यले दुई संस्थालाई फाइदा पुग्ने बताउनु भयो ।
सम्झौता कार्यक्रममा नवजीवन सहकारीका सञ्चालक खेमराज पाण्डे, महाप्रवन्धक प्रदीपराज जोशी पनि उपस्थित हुनुहुन्थ्यो ।