सहिद स्मृति जनस्वास्थ्य सहकारी संस्था लिमिटेड को १६ औँ वार्षिक साधारण सभा

टीकापुर, १६ कात्तिक/सहिद स्मृति जनस्वास्थ्य सहकारी संस्था लिमिटेड टीकापुर १ समितिपुर कैलालीको १६ औँ वार्षिक साधारण सभा भएको छ ।
रतनराज तिमिल्सिनाको अध्यक्षता मा भएको साधारण सभा उद्घाटन गर्दै टीकापुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले सहकारीले आफ्नै भवन निर्माण गरी आफ्नै भवनबाट सेवा सुरु गर्नु सकारात्मक पक्ष भएको बताउनुभयो ।
न्यौपानेले पालिकाभित्र विभिन्न उद्देश्यले खोलिएका सहकारी रहेका, कतिपय सहकारी झोलामा मात्र रहेका बताउँदै, पालिकाले सहकारीलाई पालिकासँग जोड्न थुप्रै लगानी र प्रयास गरेको बताउनुभयो ।
उहाँले बचत संकलन मात्र प्रमुख विषय नभइ बचतलाई ऋण लगानी गर्दा उत्पादन का क्षेत्रमा लगाएमा मात्र संस्था र शेयर सदस्यलाई फाइदा हुने बताउनु भयो ।
 कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक बलबहादुर रावलले आउँदा दिनमा स्वास्थ्यकर्मीहरू संगठित भएर स्थापना गरेको सहकारीले स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले आयमूलक र जनस्वास्थ्यका क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउनुभयो ।
शहिद स्मृति सहकारी स्वास्थ्यकर्मीको मात्र संस्था भएकाले टीकापुर नगरपालिका भित्रका जनवास्थ्यका समस्या समाधानमा सघाउने उद्देश्यसहित स्थापना भएको     हो ।
सहकारीका संस्थापक सचिव तथा लेखा समिति संयोजक लोकबहादुर नेपालीले सहकारीले समुदायस्तरमा विपन्न वर्ग र स्वास्थ्य पहुँच नपुगेका क्षेत्रमा सहकारीले गतिविधि बढाउनुपर्ने बताउँदै सहकारीमा स्वास्थ्य क्षेत्रका विज्ञ नागरिक पनि भएकाले स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
साधारण सभामा असल ऋणी कविता रावल, असल बचतकर्ता राधा राईलाई सम्मान गरिएको छ । सहकारीले गत आर्थिक वर्षमा पाँच लाख ३५ हजार ३२७ खुद नाफा कमाएको छ । सहकारीले टीकापुर नगरपालिकाको सहयोग मा २६ लाख बढीको लागतमा आफ्नै भवन निर्माण गरी सेवा दिइरहेको छ ।
वि.सं. २०६८ सालमा स्थापना भएको सहकारीमा २ सय २२ जना शेयर सदस्य छन् । १९ लाख २० हजार शेयर पुजि रहेको सहकारीमा २३ लाख ८६ हजार बचत रहेको छ । साधारण सभामा सहकारीको खराब ऋण नरहेको जानकारी दिइएको छ ।
सहकारीले आउँदा दिनमा स्वास्थ्य शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने, आयुर्वेदिक औषधि प्रशोधन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने एम्बुलेन्स सेवा सञ्चालन गर्ने र शेयर सदस्यहरू तथा नागरिकका लागि दैनिक उपभोग्य सामग्री सम्बन्धी सुफत उपभोक्ता पसल सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ । कार्यक्रमका अध्यक्ष रतनराज तिमिल्सिनाले रातदिन खटेर भवन निर्माण गर्ने सञ्चालक सदस्य तथा शेयर सदस्यलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम सञ्चालन सचिव सीता खनालले गर्नुभएको थियो भने स्वागत सदस्य पुष्पराज तिमिल्सिनाले गर्नुभएको थियो ।