सम्पादकीय
नेपाली कांग्रेसमा देखिएको अन्योलताले अब हुने स्थानीय निर्वाचनमा को विजयी हुने हो भन्ने बारेमा तर्कवितर्क हुन थालेका छन्। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट थालेको छ भने कांग्रेस, एमाले र माओवादीमा आफ्नै रडाको छ। कांग्रेसको लफडाले यतिखेर स्थानीय निर्वाचनका बारेमा चासो बढेको छ। कांग्रेस कमजोर भएपछि कसलाई लाभ हुन्छ भनेर जोडघटाउ हुन थालेको छ। कतिपयले कांग्रेस कमजोर भएपछि कैलालीमा नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीलाई फाइदा पुग्ने भयो भनेर अनुमान गर्न थालेका छन्। वाम एकता भयो भने नागरिक उन्मुक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी र वामपन्थीहरूबीच त्रिपक्षीय लडाइँ हुने आकलन गर्नेहरू पनि छन्। एउटा कांग्रेस चौथो र अर्को कांग्रेस पाँचौँ हुने अवस्था छ। कांग्रेस कांग्रेसबीच गठबन्धन हुनुपर्छ भनेर कतिपय कांग्रेसका कार्यकर्ता बोल्न थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि खासै उम्मेदवार पाएको अवस्था छैन। राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि समस्या छ। फागुनमा भएको संघीय निर्वाचनको जस्तो अवस्था अहिले छैन भने पार्टीमा नयाँ मान्छे आयो भने आपसमा डराउने गरेका छन् । सामाजिक काम नगरेका तर पढेलेखेका युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् । उनीहरूमा पनि यसपटक नै अवसर पाउनुपर्छ भन्ने भूत पलाएको छ। पछि के हो के हो भन्नेमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो उम्मेदवार खोजिरहेको अवस्था छ । कांग्रेस र एमालेमा राम्रा मान्छेभन्दा आफ्ना मान्छेलाई टिकट दिने प्रचलन छ। जनताको भावना बुझेर टिकट दिनुको साटो नेतृत्वले जसलाई टिकट दिन्छ, जनताले उसैलाई भोट हाल्छन् भन्ने मानसिकता बसेको छ। पछिल्लो समय कांग्रेस, एमाले र माओवादीका अधिकांश जनप्रतिनिधि बदनाम भएका छन् । कांग्रेस कमजोर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यसपटक धेरै आशा गरेको छ। सत्तामा भएको बेला स्थानीय र प्रदेश निर्वाचनमा राम्रो परिणाम ल्याउने प्रयासमा लागेको छ। उसो त पुराना पार्टीभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसपटकको निर्वाचनमा जनताको मन जित्न सजिलो छ। केवल कांग्रेस सकेर हुन लागेको स्थानीय र प्रदेश निर्वाचनमा कसले जित हात पार्छ भन्ने आम जनतामा कौतूहलता छ। आम जनता कांग्रेस मिलोस् भन्नेमा छन् तर नेतृत्व कांग्रेस कब्जा गर्नमा मात्र उद्यत छन्। तसर्थ, नेपाली कांग्रेसका हरेक नेता तथा कार्यकर्ता गम्भीर हुन जरुरी छ। कांग्रेस कमजोर भयो भने नेपालमा प्रजातन्त्र कमजोर हुने मात्र होइन, आम नागरिकको जनजीवन समस्यामा पर्छ ।