टीकापुर दैनिकले आफ्नो २३औं वर्षको यात्रा पूरा गरेर २४औं वर्षको यात्रा सुरु गरेको छ। साप्ताहिक पत्रिकाका रूपमा प्रकाशित भएको पत्रिका करिब २ वर्षपछि दैनिक रूपमा प्रकाशन सुरु गरिएको थियो। हामीलाई २२, २३ वा २४ भन्न जति सजिलो होला, तर टीकापुर दैनिकलाई यहाँसम्म पु¥याउन धेरै गाह्रो भएको छ। सुरुका दिनमा प्राविधिक कठिनाइ थियो भने अहिले विज्ञापनका स्रोत लगभग सुकेको जस्तो अवस्था छ। उसो त टीकापुरबाट प्रकाशित हुने पहिलो दैनिक पत्रिका भनेर हामीले गर्व गर्न पाएका छौं। यस क्षेत्रको पहिलो दैनिक पत्रिका भएको हुनाले आफ्ना कठिनाइलाई सहज रूपमा लिएर पत्रकारिता गरिरहेका छौं। दैनिक पत्रिका सञ्चालन गर्दा हाम्रो एउटै पवित्र उद्देश्य जनतालाई सुसूचित गराउने र भ्रष्टाचारका विषयलाई उजागर गर्नु थियो। दबिएका आवाजलाई बुलन्द तवरले उठाउने हाम्रो उद्देश्य हो । सुरुवातदेखि आजका मितिसम्म टीकापुर दैनिकले सकेजति आवाज उठायो । पछिल्लो समय सामाजिक सञ्जाल पत्रपत्रिकाभन्दा चाँडै खबर थाहा पाउने माध्यम बनेको छ । पत्रकारिताभन्दा पनि के बिक्छ भन्ने कुरा यतिखेर सञ्चार माध्यमको प्राथमिकता भएपछि पत्रकारिता क्षेत्रमा अराजकता मात्र मच्चिएको छैन, विश्वास पनि गुम्दै गएको छ। युग अनुसार हो भने सत्यतथ्य सूचना सहज रूपमा बाहिर आउनुपर्ने भए पनि पत्रकारलाई चाहिएको कुरा मात्र बाहिर आउने गरेका छन्। पत्रकारितामा विश्वास कम हुँदै गएको छ। पत्रकारितामा पनि अन्य क्षेत्रझैं स्वेच्छाचारिता मौलाउँदै जाँदा आम पाठकले बेलाबखत निराशा प्रकट गर्ने गरेका छन् । टीकापुरजस्तो क्षेत्रमा पत्रकारिता सुरुवाती चरणमा जति कठिन थियो, त्योभन्दा कठिन अहिले भोगिरहेका छौं। विज्ञापनका स्रोत सुक्दै जानु र पत्रकारिताका नाममा जथाभावी गर्ने प्रचलनले इमानदारीपूर्वक काम गर्नुपर्छ भन्ने पत्रकार समस्यामा पर्न थालेका छन्। अब पत्रिका बचाउन ठूलो चुनौती छ। वर्षौंदेखि टीकापुरमा पहिचान बनाएको टीकापुर दैनिक केवल पाठकका कारण टिकेको छ। अबको केही वर्षमा प्रिन्ट मिडिया बन्द हुने हुन् भन्ने सबैलाई लागेको छ। थप परिष्कृत गरेर ल्याउन सकेको भए केही वर्ष आयु बढाउन सकिन्छ भन्ने सोचमा छौं। अब अनलाइनमार्फत पनि पाठकवर्गमा समाचार पु¥याउने सोचमा छौं। एकताका टीकापुर क्षेत्रका लागि आवश्यकता महसुस गरिएको टीकापुर दैनिकलाई सबैले माया गर्नुहुनेछ भन्ने आशा छ। साथै पत्रिका प्रकाशन गर्दाका सम्पादक कर्ण बहादुर कुँवर, पत्रकार मातृका तिमिल्सिना, पूर्ण थापा, कमल केसीलाई हार्दिक धन्यवाद दिन चाहन्छु । पत्रिकासँग अनवरत जोडिनुभएका सहसम्पादक लोकेन्द्र रावल प्रति आभार प्रकट गर्दछु। साथै पत्रिका साप्ताहिक रूपमा प्रकाशन गर्न उत्प्रेरणा दिने बम बहादुर धामी, नारायण भण्डारी र विष्णु ढुंगानालाई पनि धन्यवाद दिन चाहन्छु। सुरुका दिनमा सबै मिलेर टीकापुरका लागि काम गर्नुपर्छ भनेर पत्रिका प्रकाशनमा लागेका हौं । अहिले टीकापुरमा ५ वटा दैनिक र २ वटा साप्ताहिक पत्रिका प्रकाशित भइरहेका छन् । यी पत्रिका यस क्षेत्रका गहना पनि हुन् । सञ्चार क्षेत्र बलियो बनाउनु समुदायको पनि दायित्व हो । पत्रकारले पैसा पाउने भनेकै विज्ञापनबाट मात्र हो । स्थानीय सरकार टीकापुर क्षेत्रबाट प्रकाशित हुने पत्रिकाका बारेमा खासै गम्भीर छैनन् । फेरि पनि हाम्रो नयाँ वर्षको यात्रा तपाईंहरूको सहयोग र सुझाव अनुसार अघि बढ्ने प्रतिबद्धता प्रकट गर्दै सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता र शुभेच्छुकहरूमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
