टीकापुर, २९ कात्तिक/नेपाली संस्कृति परिषद् नगर कार्य समिति टीकापुर कैलालीको आयोजनामा दीपावलीको अवसरमा भेटघाट तथा सात वारका सम्बन्धमा विचार गोष्ठी आयोजना भएको छ ।
नेपाली संस्कृति परिषद् टीकापुरका अध्यक्ष लालबहादुर साउथको अध्यक्षतामा भएको कार्यक्रममा मानव जीवनमा सात बारको महत्वबारे जानकारी दिइएको छ ।
सात बारको महत्वबारे बोल्दै सनातन संस्कृति प्रतिष्ठान टीकापुरका अध्यक्ष नारायण तिमिल्सिनाले विगतमा मानिसहरू घरमा आउँदा शान्ति मिल्ने गरेको प्रसङ्ग उल्लेख गर्दै दिनभरि बाहिरी कामबाट घर फर्किदा शान्ति मिल्नुपर्नेमा अहिलेका घरमा अशान्ति र कलह बढेकाले घर सुधार्नुपर्ने बताउनुभयो ।
तिमिल्सिनाले युद्ध धर्ममा नहुने भएपनि भागवत गीतामा कुरुक्षेत्र लाई धर्मक्षेत्र भनिएकाले हिन्दू धर्मावलम्बीहरूले शत्रुसँग लड्दा पनि धर्मको पालना गर्ने गरेको बताउँदै तर अहिले त्यस्तो नरहेको बताउनुभयो ।
उहाँले पति, देवर, भाइ र घरका सदस्यका लागि महिला पुजनीय हुने भएकाले नारीको पुजा गरे देवता खुशी हुने,नगरे देवता निराश हुने भएकाले नारी पुजा गर्ने घर सुध्रिएका बताउनुभयो ।
उहाँले सातबार सबै धर्म संस्कृतिमा रहेको उल्लेख गर्दै सात बारको महत्वबारे जानकारी दिनुभयो ।

कार्यक्रममा डाक्टर जगतबहादुर सिंह रावलले हरेक धर्मको उद्देश्य एउटै र ईश्वर पनि एउटै हुने भएकाले मानवीय सोच विकास राम्रो हुनुपर्ने धर्मका नाममा घृणा बढाउने एक अर्काको धर्म अस्वीकार गर्ने कार्य गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा डाक्टर केशरबहादुर कुँवरले धर्मलाई अझ बढी बैज्ञानिक र धर्मलाई अर्थसँग जोड्न सकेमा धर्म र संस्कृति जोगिने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी फकिर सिंह कडायतले
दशैँ तिहार जस्ता हिन्दुहरुका पर्वले पुजाआजा किन गरिन्छ,पर्व किन मनाइन्छ भन्ने तर्फ जानकारी लिन कसैले नचाहेकाले त्यसबारे पनि जानकार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली संस्कृति परिषद्ले रसुवा बाडीमा अभिभावक गुमाएका बालबालिका लाई सहयोग गर्ने उद्देश्यले अभिभावक गुमाएकी बालिका नमुना सन्जाल लाई नगद ५ हजार हस्तान्तरण गर्नुका साथै नमूनाको अध्ययन खर्च नेपाली संस्कृति परिषद्ले जिम्मा लिने नेपाली संस्कृति परिषद् नेपालका अध्यक्ष तथा अन्तर्राष्ट्रिय महासचिव हर्क बहादुर स्वाँरले जानकारी दिनुभयो ।
प्रदेश महासचिव मोहन उपाध्यायले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सचिव बाल बोहोराले गर्नुभएको थियो ।