टीकापुर, ३ जेठ/टीकापुर नगरपालिका वडा नं. १ ले वडामा रहेका १५० जना जेष्ठ नागरिक लाई सुपानेट झुल वितरण गरेको छ ।
वडा कार्यालयले गर्मीको समयमा लामखुट्टेको टोकाइ बढ्ने, सर्प, किरा फट्याङग्रा को डर हुने भएकाले जेष्ठ नागरिकको सुरक्षामा सहयोग होस भनी झुल वितरण गरेको जनाएको छ ।
झुल वितरण गर्दै वडाध्यक्ष मोहन विकले वडामा २ हजार बढी जेष्ठ नागरिक भएकाले यस वर्ष ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई सम्मान गरिएको बताउनुभयो । ‘‘हरेक वर्ष जेष्ठ नागरिक सम्मानका कार्य गर्दै आएका छौँ, यस वर्ष लामखुट्टेको टोकाइका कारण लाग्ने रोगबाट बच्न सहयोग होस भनी झुल वितरण गरेका छौँ’’, वडाध्यक्ष लुहारले भन्नुभयो, ‘‘हामी जेष्ठ नागरिकलाई सम्मानका कार्य नियमित गर्नेछौँ ।’’

विकले सम्मानको संस्कृति हराउँदै गएकाले जेष्ठ नागरिक लाई माया र सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन यस्ता कार्य गर्दै आएका बताउनुभयो ।
कार्यक्रममा वडा सचिव चक्रबहादुर रावलले चालु आर्थिक वर्षको रु। १ लाख बजेटबाट जेष्ठ नागरिकलाई सम्मान स्वरुप झुल उपलब्ध गराइएको बताउनुभयो ।
वडा सदस्य गणेश घर्तीमगरले जेष्ठ नागरिकलाई सरकारले भुलेको छैन भन्ने महसुस गराइएको र सर्प, लामखुट्टेको टोकाइ जस्ता विभिन्न जोखिमबाट बच्न झुल लगाएर सुत्नुपर्छ भन्ने सन्देश दिन यो कार्य गरिएको बताउनुभयो । झmु पाएपछि जेष्ठ नागरिक खुशी भएका छन् ।
राति सुत्दा लामखुट्टेले टोकेर सताएकाले अब झुल लगाएर सुत्ने जेष्ठ नागरिक सरस्वती देवी आचार्यले बताउनुभयो । अर्का जेष्ठ नागरिक कौशिला ढुंगानाको झुल पूरानो भएको थियो । ‘‘झुल फाटेको थियो, वडा कार्यालयले दियो, आजै गएर फेर्छु’’, ढुंगानाले भन्नुभयो, ‘‘सानो सहयोग भए पनि काम लाग्ने सहयोग मिलेको छ ।’’
कार्यक्रममा पत्रकार दुर्गा देवकोटा र झलनाथ खनालले समेत वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गर्नु सकारात्मक भएको बताएका छन् ।