काठमाडौं, १२ भाद्र/प्रतिनिधि सभा,राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
बुधबार सभापति न्यौपानेले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनु भएको हो ।
समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको थियो ।

निजामति सेवा विधेयकको कुलिङ पिरियड मा विवादमा तानिएपछि समिति सभापति कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो ।
बैठकमा समिति सदस्य खतिवडा ले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाउनु भएको थियो ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका न्यौपाने हाल कांग्रेस को केन्द्रीय सदस्य हुनुहुन्छ । कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो । उहाँ नेपाली कांग्रेसको समानुपातिक सांसद हुनुहुन्छ ।